पथलैया । वन संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकास र स्थानीयलाई रोजगारी उपलब्ध गराउँदै आएको बाराको थानीमाई सामुदायिक वन उपभोक्ता समूहले गत आर्थिक वर्षमा १२ लाख रुपैयाँभन्दा बढी रकम बचत गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१, २, ३ र ४ मा फैलिएको वन समूहले आर्थिक वर्ष २०८२/०८३ मा ५७ लाख ११ हजार ९२३ रुपैयाँ आम्दानी गरेकोमा ४५ लाख ८ हजार ९९८ रुपैयाँ खर्च गरेको छ।
समूहको २१ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार वर्षभरिमा भएको आम्दानी र खर्च कटाउँदा १२ लाख २ हजार ९२५ रुपैयाँ बचत भएको हो। अध्यक्ष गोविन्दबहादुर अधिकारीको अध्यक्षतामा सामुदायिक वनको सभाहलमा आयोजित सभामा डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झा प्रमुख अतिथि थिए।
सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा लामो समयदेखि योगदान पुर्याउँदै आएका वन हेरालु सूर्य लामालाई सभाका अवसरमा २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। वनको रेखदेखमा खटिने जनशक्तिको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको समूहले जनाएको छ।
वन व्यवस्थापनलाई स्थानीय रोजगारीसँग जोड्नुपर्नेमा जोड दिँदै डिभिजनल वन अधिकृत झाले थानीमाई सामुदायिक वनले प्रत्यक्ष रूपमा ११ जनालाई रोजगारी दिएको बताए। दिगो वन व्यवस्थापनको कार्ययोजना स्वीकृत भएपछि रोजगारीका थप सम्भावना खुल्ने उनको भनाइ थियो। वनसम्बन्धी काममा बाहिरका जनशक्तिभन्दा स्थानीय उपभोक्तालाई प्राथमिकता दिँदा संरक्षणप्रतिको जिम्मेवारी र अपनत्व बढ्ने उनले उल्लेख गरे।
समूहले वनको दिगो व्यवस्थापनका लागि सरकारी नीतिअनुसार कार्ययोजना निर्माण गर्न डिभिजन वन कार्यालयसँग समन्वय गरिरहेको छ। संस्थाको विधान संशोधन तथा पुनर्लेखनको काम पनि अघि बढाइएको अध्यक्ष अधिकारीले सभामा प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ। वन र बस्तीबीचको सीमालाई सुरक्षित बनाउन रंगशालादेखि समूहको कार्यालयसम्म करिब सात सय मिटर क्षेत्रमा तारजाली लगाउने काम सुरु गरिएको छ। डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक नियुक्त गरी आवश्यक गतिविधि सञ्चालन गरिएको छ।
वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार पार्कका पूर्वाधार सुधारमा समेत लगानी भइरहेको छ। पार्किङ क्षेत्रमा सवारीसाधन चोरी तथा तोडफोडका घटना रोक्न सीसीटीभी जडान गरिएको छ। निर्माणाधीन पौडी पोखरीलाई आफ्नै स्रोतबाट थप संरचना निर्माण गरी चालु वर्षभित्र सञ्चालनमा ल्याउने समूहको लक्ष्य छ। बालबालिकाका लागि बनाइएको चिल्ड्रेन पार्कमा ई–ब्लक बिछ्याउने काम पूरा भएको र थप खेल सामग्री जडान गर्ने तयारी रहेको जनाइएको छ।
आर्थिक पारदर्शिता कायम गर्न समूहले मासिक आम्दानी र खर्चको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने अभ्यास सुरु गरेको छ। बिलिङ तथा आर्थिक कारोबारलाई व्यवस्थित बनाउन अनलाइन सफ्टवेयरसमेत प्रयोगमा ल्याइएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न उपभोक्तालाई घर निर्माणका लागि आवश्यक खामा, बल्ली तथा दाहसंस्कारका लागि दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको समूहले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको जनाएको छ। कार्यालयसम्म पुग्ने सडक र मोटरसाइकल पार्किङस्थल पक्की बनाइएको छ भने सडकमा रहेको होमपाइप हटाएर कल्भर्ट निर्माणको काम अघि बढाइएको छ।
अध्यक्ष अधिकारीका अनुसार वनको विकास र व्यवस्थापनमा कार्यसमिति, लेखा समिति तथा सल्लाहकार समितिका पदाधिकारीले बैठक र मासिक भत्तासमेत नलिई योगदान गर्दै आएका छन्।
साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ तथा राधाकृष्ण र भीमेश्वर मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिलगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन समूहका सदस्य गंगाप्रसाद मैनालीले गरेका थिए।


