पूर्व शिक्षक सिटौलाले स्थापना गरे १० लाखको छात्रवृत्ति अक्षय कोष

रञ्जन यादव
39 पाठक संख्या

जीतपर । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले जीतपुरसिमराका एक पूर्व शिक्षकले आफ्नो नाममा १० लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक अच्युतदेव सिटौलाले आफ्नी श्रीमती सरस्वती सिटौलासँगको नाममा ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो। विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा कोष स्थापना गर्ने घोषणा गरिएको हो।

सिटौलाले २०४२ सालदेखि २०८२ सालसम्म सोही विद्यालयमा अध्यापन गर्नुभएको थियो। लामो समय अध्यापन गरेको विद्यालयसँगको सम्बन्ध र यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्यप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने उद्देश्यले कोष स्थापना गरेको उहाँले बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यका अनुसार कोषको रकम मुद्दती खातामा राखिनेछ। त्यसबाट प्राप्त हुने ब्याजलाई छात्रवृत्तिका रूपमा प्रत्येक वर्ष विद्यार्थीलाई उपलब्ध गराइनेछ।
विद्यालयले छात्रवृत्तिका लागि प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याएका, आर्थिक रूपमा विपन्न र अध्ययनमा मेहनती विद्यार्थीलाई प्राथमिकता दिने जनाएको छ। विशेषगरी नेपालमै रहेर उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई छात्रवृत्तिको दायरामा समेटिने विद्यालयको भनाइ छ।

कोष स्थापनासँगै यस वर्ष विज्ञान संकायतर्फ कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी सृजन ढुंगानालाई १५ हजार रुपैयाँसहित छात्रवृत्ति प्रदान गरिएको छ। ढुंगानाले कक्षा १२ को परीक्षामा ३.६४ जीपीए प्राप्त गरेका थिए।

प्रधानाध्यापक आचार्यले विद्यालयमा पहिलोपटक यति ठूलो रकमको छात्रवृत्ति अक्षय कोष स्थापना हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। कोषबाट प्राप्त हुने छात्रवृत्तिले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्नुका साथै अन्य विद्यार्थीलाई समेत मेहनतका लागि प्रेरित गर्ने उहाँको विश्वास छ।

कोषका संस्थापक सिटौलाले आर्थिक कठिनाइका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थीले उच्च शिक्षा छाड्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो। आफूले दशकौँ बिताएको विद्यालयका विद्यार्थीको भविष्यमा केही योगदान गर्न सकियोस् भन्ने सोचले आफू र श्रीमतीको नाममा कोष स्थापना गरेको उहाँको भनाइ छ। छात्रवृत्ति पाउने विद्यार्थीले प्राप्त अवसरको सदुपयोग गरी राम्रो अध्ययन गरेर भविष्यमा समाज र देशका लागि योगदान गर्ने अपेक्षासमेत उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले पूर्व शिक्षक सिटौलाले विद्यार्थीको शैक्षिक भविष्यलाई केन्द्रमा राखेर गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। आर्थिक अवस्था कमजोर भए पनि पढाइमा अब्बल र लगनशील विद्यार्थीका लागि यस्तो कोष उच्च शिक्षा हासिल गर्ने आधार बन्न सक्ने उहाँको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद, विद्यालयका सहायक प्रधानाध्यापक डम्बर खड्का, व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो।

Leave a review