सिमरामा झोलाभित्र झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ

रञ्जन यादव
68 पाठक संख्या

बारा । बारा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको छ। लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमरा चोकबाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरूलाई शंकाका आधारमा रोकेर साथमा रहेको झोला खानतलासी गरेको थियो। खानतलासीका क्रममा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा अफिम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो।बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।

उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले घटनाबारे जानकारी दिँदै दम्पतीको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको पुष्टि गरेका छन्।

Leave a review