कोल्हबी । धिरेन्द्र पनुहर/ नेपाली कांग्रेस कोल्हबी नगरपालिका–५ को वडा अधिवेशनबाट रबिन्द्र चौधरी सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनले वडा कार्यसमितिका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरूलाई समेत सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट सभापतिमा रबिन्द्र चौधरी, उपसभापतिमा शिवकुमार चौधरी र रामबीर चौधरी चयन हुनुभएको छ। त्यसैगरी सचिवमा दिपेन्द्र चौधरी र रामअयोध्या चौधरीलगायत पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्।
सर्वसम्मत रूपमा चयन हुनुभएका नयाँ वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले नेपाली कांग्रेस जनताको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी भएको बताउनुभयो। उहाँले नेपालको संविधानले गरिब, महिला, दलित, जनजातिलगायत विभिन्न समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो।
पूर्वमन्त्री चौधरीले देशमा संकट उत्पन्न भएका विभिन्न अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गर्नुभयो। उहाँले पार्टीलाई थप मजबुत बनाउन स्थानीय तहदेखि नै संगठनलाई व्यवस्थित र एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले वडा अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ नेतृत्वले पार्टी संगठनलाई थप मजबुत बनाउन, जनतासँगको सम्बन्धलाई अझ नजिक बनाउन तथा स्थानीय स्तरका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशनमा सहभागी नेताहरूले पनि नयाँ वडा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीको नीति, सिद्धान्त र संगठनलाई बलियो बनाउन सबै कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
वडा अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएपछि नेपाली कांग्रेस कोल्हबी–५ को संगठनात्मक गतिविधि थप प्रभावकारी रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।
वडा सभापति रामानन्द चौधरीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेसका पूर्वमन्त्री उमाकान्त चौधरी, नेपाली कांग्रेस बारा जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी, कोल्हबी नगर सभापति बिरेन्द्र चौधरी, कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीलगायत कांग्रेसका क्रियाशील तथा सक्रिय सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ईश्वर चौधरीले गर्नुभएको थियो।


