बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको विवादले उग्र रूप लिएपछि गोली लागेर गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १८ वर्षीय छोरा आदित पासवानको पेटमा गोली लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन्।
१५ शय्याको आधारभूत अस्पतालमा विद्युत् तथा आवश्यक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा स्थिति तनावपूर्ण बनेपछि गोली प्रहार भएको र अन्दाजी ९ वटा मोटरसाइकलमा आगजनी भएको छ। विवादले उग्र रूप लिएपछि अस्पतालमा लगाइएको शिलालेखसमेत तोडफोड गरिएको छ।
घटनापछि फेटा क्षेत्रमा तनाव बढेको छ। घटनाको अवस्था र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा समितिको बैठक बोलाउने तयारी गरेको छ। फेटा क्षेत्रमा कर्फ्यु लगाउने विषयमा समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्।
उनका अनुसार घटनास्थलस्थित भवनभित्र २५ जना प्रहरी र १२ जना कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
सम्भावित थप झडप रोक्न तथा सुरक्षाकर्मी र कर्मचारीको सुरक्षाका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको छ। घटनास्थलको अवस्था नियन्त्रणमा लिन र थप मानवीय क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाउने तयारी भइरहेको छ। घटनाको थप विवरण तथा सुरक्षा समितिको निर्णय आउन बाँकी छ।


