पत्रकार वीरेन्द्र साह हत्या प्रकरण : लालबहादुर धामी पुर्पक्षका लागि थुनामा

साझेदारी डेलि
141 पाठक संख्या

‎कलैया । पत्रकार वीरेन्द्र कुमार साहको अपहरण तथा हत्या प्रकरणमा अभियुक्त लालबहादुर धामी चौधरी भन्ने लालबहादुर धामी थारुलाई पुर्पक्षका लागि थुनामा राख्न बारा जिल्ला अदालतले आदेश दिएको छ।
‎
‎बिहीबार जिल्ला अदालत बाराको इजलास नम्बर ४ का न्यायाधीश दुर्गादेवी गुरुङको इजलासले कर्तव्य ज्यान मुद्दामा अभियुक्त धामीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतका श्रेस्तेदार राजकुमार दाहालले उक्त आदेश भएको पुष्टि गरेका छन्।
‎
‎२०६४ साल असोज १८ गते बाराको तत्कालीन इनर्वासिरा–८ निवासी ३४ वर्षीय पत्रकार साहलाई तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेको थियो। अपहरणमा परेका साहको शव सोही वर्षको कात्तिक २२ गते बाराको तत्कालीन डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो।
‎
‎एभिन्यूज टेलिभिजनमा आबद्ध भएर पत्रकारिता गर्दै आएका साहको हत्या प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको मागसमेत निरन्तर उठ्दै आएको छ।
‎
‎यसअघि उक्त घटनामा संलग्न मनेजर गिरी र रामएकवाल सहनी पक्राउ परेका थिए। अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। त्यसैगरी, हत्याका मुख्य अभियुक्तका रूपमा चिनिएका कुन्दन भन्ने नरेन्द्रकुमार फौजदारलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो।
‎
‎अभियुक्त धामीलाई पुर्पक्षका लागि थुनामा राख्ने अदालतको पछिल्लो आदेशसँगै घटनामा संलग्न अन्य आरोपीमाथि पनि अनुसन्धान र कानुनी कारबाही अघि बढाउनुपर्ने माग पुनः उठेको छ। ‎नेपाल पत्रकार महासंघले पत्रकार साहको हत्यामा संलग्न अन्य आरोपीलाईसमेत पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै आएको थियो ।

Leave a review