जीतपुर । बारा जीतपुरसिमराको राजनीतिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव राख्ने व्यक्तिहरू नेपाली कांग्रेसमा आबद्ध भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेमा सक्रिय रहेका व्यवसायी तथा पूर्वजनप्रतिनिधिसहित चार जनाले पार्टी परित्याग गरी कांग्रेस रोजेका हुन्।
कांग्रेस प्रवेश गर्नेहरूमा जीतपुरसिमरा नगर सहसचिव तथा रेडिमेड संघका अध्यक्ष प्रकाश गिरी, जसपा नेपालका केन्द्रीय सदस्य एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरी, जीतपुरसिमरा उपमहानगरपालिका–८ का पूर्ववडाध्यक्ष रामबाबु पटेल र वडा नं. १० का पूर्ववडाध्यक्ष सरोज पटेल रहेका छन्।
उनीहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका स्थानीयस्तरमा परिचित व्यक्तिहरूको प्रवेशले जीतपुरसिमरामा कांग्रेसको सांगठनिक गतिविधिमा नयाँ प्रभाव पार्न सक्ने स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
नवप्रवेशी प्रकाश गिरी व्यवसायीका रूपमा लामो समयदेखि सक्रिय छन्। उनले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको महासचिव पदमा दुई कार्यकाल निर्वाचित भएर काम गरिसकेका छन्। व्यवसायीको हकहित, उद्योग तथा व्यापार क्षेत्रका समस्या र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका गिरी स्थानीय व्यवसायिक क्षेत्रमा परिचित छन्।
त्यसैगरी घनश्याम गिरी उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षका रूपमा परिचित छन्। उनी यसअघि जसपा नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। पूर्ववडाध्यक्ष रामबाबु पटेल नेकपा एमालेसँग आबद्ध थिए भने सरोज पटेल जसपा नेपालमा सक्रिय थिए। कांग्रेस प्रवेशपछि प्रकाश गिरीले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण, आर्थिक समृद्धि तथा निजी क्षेत्रका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्यसहित आफूहरूले कांग्रेस रोजेको बताएका छन्।
यसैगरी सोही कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ पुर्ववडा सदस्य युवा शशी दास पनि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । दास नेकपा एमालेको युवासंघ हुदै २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनले जेन्जी आन्दोलनपछि वडा सदस्य पदबाट राजीनामा दिएर स्वतन्त्र भएर बसेका थिए ।
स्थानीय तहमा राजनीतिक दलहरूबीच संगठन विस्तार र नेता–कार्यकर्ता आकर्षित गर्ने प्रतिस्पर्धा चलिरहेका बेला व्यवसायिक क्षेत्रका अगुवा तथा पूर्वजनप्रतिनिधिहरूको कांग्रेस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



