पर्साका ग्रामीण बजारमा अस्वस्थकर माछामासु बिक्री, उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

साझेदारी डेलि
105 पाठक संख्या

वीरगंज । पर्साको ग्रामीण क्षेत्रमा उपभोक्ताको स्वास्थ्यसँग गम्भीर खेलवाड भइरहेको पाइएको छ। जिल्लाका विभिन्न ग्रामीण बजार तथा चोकमा माछामासु बिक्री गर्ने पसलहरूले खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित भण्डारणसम्बन्धी सामान्य मापदण्डसमेत पालना नगरी अस्वस्थकर अवस्थामा माछामासु बिक्री गर्दै आएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।

झिँगा भन्किएको, धुलो–धुवाँ परेको, फोहोर तथा खुला स्थानमा राखिएको मासुदेखि पानी र कृत्रिम रङ प्रयोग गरेर मासुको स्वरूप परिवर्तन गर्ने गतिविधिसम्म सार्वजनिक हुँदा पनि सम्बन्धित स्थानीय तह तथा नियमनकारी निकायको प्रभावकारी अनुगमन नदेखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

धोबिनी गाउँपालिकाको लंगडी चोक, छिपहरमाई गाउँपालिकाको भिस्वा, जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक तथा पोखरिया नगरपालिकाको पोखरियालगायतका ग्रामीण बजारमा माछामासुको बिक्रीवितरण अव्यवस्थित र अस्वच्छ अवस्थामा भइरहेको उपभोक्ताको आरोप छ।

कतिपय पसलमा छानो तथा सुरक्षित बिक्रीस्थलको उचित व्यवस्था नगरी खुला ठाउँमै मासु काट्ने र बिक्री गर्ने गरिएको छ। बिक्रीका लागि राखिएको मासुमा झिँगा, लामखुट्टे तथा अन्य कीरा भन्किने, सडकको धुलो र सवारीसाधनको धुवाँ पर्ने तथा लामो समयसम्म खुला वातावरणमै राखिने गरेको स्थानीयको भनाइ छ।

उपलब्ध भिडियो प्रमाणमा मासुमा पानी छर्किने, पानी हाल्ने तथा पम्पको प्रयोग गरी हावा भर्ने गतिविधिसमेत देखिएको छ। मासुमा चम्पई रङ लगाउने गरिएको विषय पनि सार्वजनिक भएको छ। यस्ता गतिविधिबाट मासुको वास्तविक अवस्था लुकाउने, बाहिरी स्वरूप आकर्षक बनाउने र उपभोक्तालाई झुक्याएर बिक्री गर्ने जोखिम बढेको छ।

खाद्य वस्तुमा प्रयोग गरिएको रङ तथा अन्य रसायन अनुमतिप्राप्त हुन् वा होइनन् भन्ने विषयमा सम्बन्धित निकायबाट परीक्षण हुन आवश्यक देखिएको छ। अनुमति नलिइएका वा अखाद्य पदार्थ प्रयोग गरिएको पुष्टि भए त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

मासु पसलहरूको सरसफाइ अवस्था पनि उत्तिकै चिन्ताजनक रहेको स्थानीयको गुनासो छ। कतिपय पसलमा मासु काट्ने टेबुल, चक्कु, खुकुरी तथा अन्य उपकरणको नियमित निःसंक्रमण र सफाइ नगरिने, सफा पानीको सट्टा फोहोर पानी प्रयोग हुने तथा बिक्रीस्थलमै रगत, फोहोर पानी र अन्य फोहोर जम्ने गरेको बताइएको छ।

पसल वरिपरि दुर्गन्ध फैलिने र मासु काट्ने व्यक्तिले सफा एप्रोन, पञ्जा तथा व्यक्तिगत सरसफाइका आधारभूत मापदण्डसमेत पालना नगर्ने गरेको आरोप छ। मासु सुरक्षित राख्न आवश्यक फ्रिज वा डिप फ्रिजको व्यवस्था नहुँदा चिस्यान कायम नगरी लामो समयसम्म खुला वातावरणमा बिक्री गर्ने प्रवृत्तिले खाद्य स्वच्छतामाथि थप प्रश्न उठाएको छ।

माछामासुको स्वच्छतासँगै तौलमा समेत उपभोक्ता ठगिने गरेको आरोप सार्वजनिक भएको छ। स्थानीय उपभोक्ताका अनुसार कतिपय पसलमा एक किलो मासु माग्दा करिब आठ सय ग्राम मात्रै उपलब्ध हुने गरी शंकास्पद तथा मापदण्डविपरीतका ढक–तराजु प्रयोग भइरहेको छ।

पुराना पल्लावाला ढक तथा तराजुबाट कम तौल दिने गरिएको आरोपसमेत लागेको छ। यसका अतिरिक्त मासुमा पानी मिसाएर तौल बढाउने र खसीको मासु भन्दै पाठीको मासु मिसाएर बिक्री गर्ने गरेको गुनासो पनि उठेको छ। यी आरोपको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले सम्बन्धित निकायले तत्काल ढक–तराजुको परीक्षण, मासुको गुणस्तर जाँच तथा आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ।

स्थानीयका अनुसार ग्रामीण क्षेत्रका कतिपय माछामासु पसल व्यवसाय दर्ताबिनै सञ्चालनमा रहेका छन् भने दर्ता भएका पसलहरूले समेत खाद्य स्वच्छता, सरसफाइ, सुरक्षित भण्डारण र व्यवस्थित बिक्रीस्थलसम्बन्धी आधारभूत मापदण्ड पालना गरेका छैनन्।

पशुपन्छीको वध तथा मासु बिक्रीका लागि आवश्यक स्वच्छ वातावरण र व्यवस्थापनमा समेत बेवास्ता भइरहेको आरोप छ। खुला तथा फोहोर स्थानमा पशुपन्छीको वध गर्ने, सडकछेउमै मासु काट्ने, चिस्यानको व्यवस्था नगरी बिक्री गर्ने र फोहोर व्यवस्थापन नगर्ने प्रवृत्तिले ग्रामीण क्षेत्रका उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ।

यति गम्भीर अवस्था सार्वजनिक भइरहँदा पनि बजार अनुगमनको जिम्मेवारी पाएका स्थानीय सरकार तथा सम्बन्धित नियमनकारी निकायको प्रभावकारी उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ। वीरगञ्ज महानगरपालिकाको सहरी क्षेत्रमा समय–समयमा बजार अनुगमनका गतिविधि देखिए पनि जिल्लाका ग्रामीण बजार तथा चोकमा भने नियमन र निगरानी कमजोर रहेको उनीहरूको आरोप छ।

धोबिनी, छिपहरमाई, जगरनाथपुर र पोखरिया क्षेत्रमा स्थानीय सरकारका जनप्रतिनिधि तथा जिम्मेवार अधिकारी हुँदाहुँदै पनि उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा चासो नदेखाइएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। अनुगमन गर्ने निकायको मौनता र उदासीनताले व्यवसायीको लापरवाहीलाई प्रश्रय दिएको उनीहरूको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई आफ्नो अधिकारक्षेत्रभित्र स्थानीय बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा वस्तु र सेवाको नियमन र अनुगमन गर्ने जिम्मेवारी दिएको छ। त्यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा नापतौलसम्बन्धी प्रचलित कानुनी व्यवस्थाले खाद्य वस्तुको स्वच्छता, गुणस्तर, सुरक्षित बिक्रीवितरण र सही तौल सुनिश्चित गर्ने आधार प्रदान गरेका छन्। कानुनले अधिकार र जिम्मेवारी दिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ग्रामीण क्षेत्रका उपभोक्ता मर्कामा परेको देखिन्छ।

स्थानीय उपभोक्ताले अब औपचारिकता पूरा गर्ने कागजी अनुगमन नभई सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नापतौलसम्बन्धी निकायको संयुक्त टोलीबाट आकस्मिक तथा प्रभावकारी स्थलगत अनुगमन गर्न माग गरेका छन्।

उनीहरूले प्रत्येक माछामासु पसलको व्यवसाय दर्ता, बिक्रीस्थलको सरसफाइ, मासुको गुणस्तर, शीत भण्डारण, सफा पानीको प्रयोग, काट्ने उपकरणको अवस्था, व्यक्तिगत स्वच्छता, फोहोर व्यवस्थापन तथा ढक–तराजुको वास्तविक अवस्था जाँच गर्नुपर्ने बताएका छन्। साथै, शंकास्पद मासुको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न र मासुमा प्रयोग गरिएका रङ तथा अन्य पदार्थको वैधानिकता यकिन गर्नुपर्ने मागसमेत गरेका छन्।

कम तौल दिने, पानी मिसाएर तौल बढाउने, अखाद्य वा अनुमतिबिनाका रसायन प्रयोग गर्ने तथा अस्वच्छ वातावरणमा माछामासु बिक्री गर्ने कार्य प्रमाणित भएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयको माग छ। त्यसैगरी, आफ्नो क्षेत्रभित्र बजार व्यवस्थापन तथा अनुगमनको जिम्मेवारी पाएका स्थानीय तहले अहिलेसम्म प्रभावकारी निगरानी किन गर्न सकेनन् भन्ने विषयमा समेत जवाफदेहिता खोजिनुपर्ने उनीहरूको भनाइ छ।

जनताको भान्सासम्म पुग्ने खाद्य वस्तुको स्वच्छता सुनिश्चित गर्नु सामान्य प्रशासनिक काम मात्र नभई जनस्वास्थ्यसँग जोडिएको संवेदनशील जिम्मेवारी हो। वीरगञ्जको सहरी क्षेत्रमा मात्र अनुगमन सीमित गरेर ग्रामीण क्षेत्रका उपभोक्तालाई बेवास्ता गर्न मिल्दैन। पर्साका सबै स्थानीय तहका बजार तथा बिक्री केन्द्रमा समान रूपमा खाद्य स्वच्छता र गुणस्तरको मापदण्ड लागू हुनुपर्छ।

झिँगा भन्किएको, फोहोरमा राखिएको, शंकास्पद रङ तथा पदार्थ प्रयोग गरिएको र कम तौलमा बिक्री भइरहेको आरोपलाई सामान्य रूपमा लिनु जनस्वास्थ्यप्रतिको गैरजिम्मेवारी हुनेछ। अब सम्बन्धित निकायले सार्वजनिक भएका भिडियो तथा स्थानीयका गुनासोलाई आधार बनाएर तत्काल स्थलगत अनुगमन, निष्पक्ष छानबिन र कानुनअनुसार कारबाही अघि बढाउने कि ग्रामीण क्षेत्रका उपभोक्ताको स्वास्थ्य जोखिममै रहन दिने भन्ने गम्भीर प्रश्न उठेको छ।

Leave a review