राम मण्डल/
वीरगंज महानगरपालिका वडा नम्बर २४ का एक जना वडा सदस्यको निधन भएको छ । सवारी दुर्घटनामा परि घाईते भएका वडा नम्बर २४ का नवनिर्वाचित वडा सदस्य ३७ बर्षिय कृष्ण कुमार यादवको मंगलबार राति निधन भएको हो ।
उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत रहेका यादवलाई थप उपचारको लागि काठमाडौंको मेडिसिटी अस्तपतालमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको वीरगञ्ज महानगरपालिका कार्यालयले जानकारी दिएको छ ।
गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको दिन मकवानपुरबाट वीरगंज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधिहरु सवारी दुर्घटनामा परी घाइते भएका थिए ।
कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । यसैबीच वडा सदस्य यादवको निधन भएपछि वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरि भोलि (बिहीबार) महानगरका अत्यावश्यक कार्य बाहेक सम्पुर्ण सेवाहरु बन्द रहने जनाएको छ ।
नगरप्रमुख राजेशमान सिँहद्वारा हस्ताक्षरित सूचनामा मृतक यादवप्रति शोक श्रद्धान्जलीसमेत ब्यक्त गरिएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

