रञ्जन यादव/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सातौँ नगरसभा सिमरामा सम्पन्न भएको छ ।
नगरसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले गर्नुभएको छ । सो अवसरमा बोल्दै नगरप्रमुख पौडेलले सम्झौता भएका योजनाहरुलाई कार्यान्वयनतर्फ तिब्रता दिने बताउँनुभएको छ । उहाँले काम नगर्ने ठेक्कदारलाई दबाब दिएर भए पनि काम गर्न बाध्य पारिने जानकारी दिनुभयो ।
फोहरमैला ब्यवस्थापनलाई आधुनिक तरिकाले ब्यवस्थापन गर्न लागेको नगर प्रमुख पौडेलले बताउँनुभयो । त्यसकालागि फोहर ब्यवस्थापन गर्ने एजेन्सीसँग कुरा भईसकेको तर ठाउँ छनोटमा अलि समस्या भईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमकावीच नगर उपप्रमुख भोला प्रसाद अधिकारीले उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९।८० को संशोधित बजेट र विधेयक प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगर उपप्रमुख अधिकारीले नगर प्रहरी विधेयक ,खानेपानी ,सरसफाई तथा स्वच्छता सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक ,बन विधेयक ,सिँचाई विधेयक ,भाषा,कला ,सँस्कृति सम्बन्धि विधेयक ,संचार विधेयक र खेलकुद बिकास विधेयक प्रस्तुत गरिएकोमा सर्बसम्मत रुपले पारित गरेको छ ।
चालु आर्थिक बर्षमा चालु खर्च ९९ करोड ४६ लाख ८ हजार ,पुँजीगत खर्च ६७ करोड ६९ लाख १२ हजार र सशर्त अनुदानको खर्च ५३ करोड ५१ लाख ७५ हजार गरी जम्मा २ अर्ब २० करोड ६६ लाख ९५ हजार खर्च अनुमान पेश गरिएकोमा फाल्गुन मसान्त सम्ममा चालु तर्फ ५८ करोड ५८ लाख ५२ हजार र पुँजीगततर्फ ६ करोड ४७ लाख ९९ हजार गरी जम्मा ६५ करोड ६ लाख ५१ हजार खर्च भई कुल खर्चको अनुमानको २९.४८ प्रतिशत प्रगती भएको छ ।
चालु आर्थिक बर्षको फाल्गुन मसान्त सम्मको बित्तिय प्रगती हेर्दा उपमहानगरपालिकाको आन्तरिक आय सङ्कलन र बित्तिय खर्च निराशाजनक रहेको उपप्रमुख भोला अधिकारीले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले प्रशासनतर्फ उठेका प्रश्नको जवाफ दिनुभएको थियो । नगर सभामा स्वागत मनतब्य ज्येष्ठ सदस्य वडा नं.२० का वडा अध्यक्ष रसुल मियाले ब्यक्त गर्नुभएको थियो ।

