रञ्जन यादव/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बैशाख महिना सम्ममा मात्र आफनो योजनाहरुको सम्झौता गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले चालु आर्थिक वर्षमा ८० प्रतिशत कार्यसम्पादन र खर्च हुने बताएका छन् । उपमहानगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुरीले खर्चको वर्तमान अवस्था न्युन रहेपनि आर्थिक वर्षको मसान्तसम्म ८० प्रतिशतको लक्ष्य लिइएको बताए ।
हालसम्म चालु आर्थिक वर्षमा उपहानगरपालिकाकाको खर्च प्रतिशत २९.४८ मात्रै छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिनामात्रै बाँकी रहदा कार्यसम्पादन र खर्चको उक्त अवस्था निकै न्युन हो । पुरीले तीन महिना भित्र उक्त प्रतिशतलाई बढाएर ८० सम्म पुर्याउने लक्ष्य रहेको बताए । जसका लागि कार्यालयले कर्मचारीलाई सोही अनुसार जिम्मेवारी प्रदान गरेको पुरीको भनाई थियो । पुरीले बैशाख महिनासम्म सम्पूर्ण योजनाको सम्झौता प्रक्रिया अघि बढाईने र बैशाख भन्दा पछि कुनै पनि योजनाको सम्झौता नहुने बताउँनुभयो ।
आफू कार्यालयमा आएको छोटो समयमै पुरानो भुक्तानीको प्रक्रिया र सम्झौता गर्न बाँकी रहेका योजनालाई व्यवस्थित ढंगले अघि बढाउन प्राथमिकता दिएर काम गरेको पुरीले बताए । २० लाखसम्मका योजनाको भुक्तानी प्रक्रिया योजना महाशाखाबाटै अघि बढाउन सकिने गरी अधिकार दिइएको भन्दै पुरीले आर्थिक वर्षको अन्त्यसम्म कसैको पनि भुक्तानी बाँकी नरहने गरी काम गरिने बताएका छन ।

