लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव बाहेकको विकल्प नरहेको बताएका छन् ।
महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरमा बुधबार नेपाल सोनार समाज बारा क्षेत्र नम्बर २ द्वारा आयोजित भेटघाट स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक रूपमा असङ्गठित रहेकोले विभेदको सिकार रहेको बताउँदै उनले भने ‘राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव भारी मतले जित्नैपर्छ बताए ।’
अहिले विपक्षीले बाहिरिया भनेर गरिएको दुष्प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिँदै नेता सोनलले मैदानमा रहेका उम्मेदवारहरू नै परीक्षणकालमा रहेकोले उपेन्द्र यादवको सङ्घर्ष, योगदान र प्राप्त उपलब्धीलाई मध्यनजर गर्दै सम्पूर्ण मतदाताले मतदान गर्नुपर्ने बताए ।
२१औं शताब्दिमा पनि जात पातको कुरा उठ्नु दुःखद रहेको उनले बताए । जातपातको कुरालाई हटाउन सकिएन भने आउँदा दिनमा सामाजिक सद्भाव बिथोलिन गई सबै समुदाय आपसमै टुक्रा–टुक्रा भएर जाने र सङ्घीयता नै कमजोर हुने भन्दै लोसपा नेता सोनलले चिन्ता व्यक्त गरे । नेपाल सोनार समाजले जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवलाई कदर–पत्रले सम्मान समेत गरेको छ ।


