पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको धोबिनी गाउँपालिका–५ निवासी अलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।
२० लाख रूपैयाँ नगद र बिल–बिजक नभएको दुई क्विन्टल काजु समेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नम्बर १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरबाट अन्सारीलाई पक्राउ गरेको हो ।
ट्र्याक्टरमा अन्दाजी २ लाख रूपैयाँ बराबरको दुई सय किलो काजु र एक हजार दरका बीस लाख रूपैया बरामद गरिएको थियो । स्रोत नखुलेको रकम र बिल–बिजक नभएको काजु बोकेर हिँडेकाले अन्सारीलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिई थप कारवाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

