मुर्ति बिर्सजनको विषयमा दुई समुदाय बीच झडप,प्रशासनद्धारा कर्फ्यु

साझेदारी दैनिक
385 पाठक संख्या

करण कुमार मिश्र/

मुर्ति बिर्सजन गर्ने विषयमा रौतहटमा झडप भएको छ । सरस्वतीको मुर्ति सेलाउने क्रममा दुई समुदायविच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु जारी गरिएको छ।

जिल्लाको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो ।

सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ।

मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

शनिवार भएको दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको बताइन् ।

घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए। ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम समुदायहरुको भनाई छ।

शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो ।

सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रवक्ता गिरीले बताइन्। श्निवार अवस्था तनावग्रस्त बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दीपेन्द्र श्रेष्ठसमेत घटनास्थल आईपुगेका छन्।

Leave a review