बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ मा सोमबार काँटवासीमाई पञ्चवर्षीय पूजा एवम् मेला मूल समितिको कार्यालय उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यालयको उद्घाटन महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले एक समारोहवीच गरेका हुन् ।
मेयर यादवले मेलालाई भव्य र सभ्य रुपमा सफल बनाउन आफुले कुनै कसर नछाडने बताए ।
उनले मेलामा आउने अप्ठेरोलाई हटाएर यसलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भारतबाट आउने सवारी साधनलाई सहज ढंगले प्रवेश दिलाउन आफुले पहल गर्ने जानकारी दिए ।
उनले मेलाको ऐतिहाँसिकतालाई हेर्दै यस मेला क्षेत्रको व्यवस्थापनमा आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्न आफु तयार रहेको बताए ।
बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले शान्ति सुरक्षाको व्यवस्थापन गर्न प्रहरी संगठनले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
संविधान सभा सदस्य रामअयोध्या यादवले मेला अत्यन्त महत्वपूर्ण रहेकोले यस्को व्यवस्थापनमा कुनै कसर नछाडन आग्रह गरे ।
पूर्व राष्ट्रिय सभा सदस्य रमेश यादवले यो मेला व्यवस्थित हुन आवश्यक रहेको बताए ।
मेला समितिका संयोजक तथा महागढीमाई वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्रप्रताप सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन मोतिलाल कुशवाहाको थियो ।
कार्यक्रममा जसपाका नेता रामकिशोर यादव,मेला समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति थियो ।
यस मेला अन्तर्गत मंसिर २७ गते कलशयात्रा तथा पौष ३ गते बलि दिइनेछ। गढीमाई मेला पछि कॉटवासीमाईको मेला बाराको दोस्रो ठूलो पञ्चवर्षीय बलि मेला हो ।
बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाई अवस्थित छ ।कटवासीमाई मेलाको एक वर्ष पछि विश्व प्रसिद्ध महागढीमाईमा पञ्चवर्षीय बलि मेला लाग्ने परम्परा रहेको छ। गढीमाईको दिदीको रुपमा काँटवासीमाई रहेको मेला प्रचार समितिले जनाएको छ ।


