बाराको महत्वपुर्ण आयोजनाको रुपमा रहेको मानवत–मटिअर्वा सडकखण्ड अझै पनि पुरा हुन सकेन ।
आयोजना सुरु भएको बर्षो भईसक्यो तर अझै पनि निर्माण कार्य पुरा भएको छैन । आयोजना पुरा नहुदा जिल्लाको सदरमुकाम कलैया अहिले कुरुप अवस्थामा देखिएको छ ।
आयोजनाको पहिलो ठेक्का अवधि सकिएर फेरी अर्को ठेक्का लगाएको पनि समय अवधि बितिसक्दा पनि सडक निर्माणले पुर्णता भने पाएको छैन ।
मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया सडक खण्डको संस्कार एफ.एमदेखि दुर्गा उच्च माध्यमिक विद्यालय बरेवासम्म साढे तीन किलोमिटर सडक निर्माण हुन बाँकी छ । यो क्षेत्रमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा पनि सडक बन्न नसकेर खाल्डै खाल्डो भएको छ ।
सुरुमा सडकमा पर्ने घरजग्गा लगायतका संरचना नहटेर समस्या थियो । संरचना नहट्दै आयोजनाको म्याद सकियो र अब भौतिक संरचना हटिसक्दा पनि सडक निर्माणको काम अधुरै रहेको छ ।
छिमेकी मुलुक भारतको मटिअर्वा छोटी भन्सारको बारा प्रवेश गर्ने मुख्य बाटो भएकोले छिटो भन्दा छिटो बनिदिए जिल्लाबासीलाई नै फाइदा हुने कलैयावासीको भनाई छ ।
सकडको निर्माण कार्य पुरा नहुदा जिल्लाको सदरमुकाम कलैया कुरुप बनेको उनको भनाइ रहेको छ । ‘सडक नबन्दा मोटरसाइकल,साइकल चलाउँदा र पैदल हिँड्दा धुलाम्य भइन्छ, वर्षायाममा त खाल्डा खुल्डी भएर पानी जमेको हुन्छ,’ एक स्थानीले गुनासो गरे,‘सबै ठाउँमा संरचना हटाइसकेको अवस्थामा सडक बन्न नसक्नु दुःखद् हो उनले भने ।
सडक नबन्दा कलैयामा ट्राफिक व्यवस्थापन असहज भएको छ । सवारी साधनको चाप र सर्वसाधरणको भिडभाड बढेको छ । वर्षायाम सुरु भएपछि मुख्य सडक हिलाम्य हुन्छ । घाम चर्केपछि धुलो उड्छ, सर्वसाधारणलाई हिँडडुल गर्न निकै कठिनाइ हुने स्थानीयहरुको भनाइ छ ।
कलैयाकै कृष्णा यादवले कलैयाको मुटु भरत चोकको दशा देखेर दिक्क लाग्ने बताउँछन् । ‘नेताहरु त्यही चोकमा आन्दोलन,सभा गर्छन्,रक्तदान कार्यक्रमदेखि हरेक कार्यक्रम गरिन्छ । सडक साँघुरो छ,गाडीको चाप बढेर दुर्घटनाको जोखिम बढेको छ,’उनले भने, भाषणमा स्मार्ट सिटीको कुरा गर्ने नेताहरुले जिम्मेवारी बोध गरेकै छैनन् । ’
मानवत–कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा विभाजन गरिएको थियो । काठमाडौंको आशिष÷डीएस जेभी निर्माण कम्पनीले २०७६ वैशाख महिनासम्ममा काम सक्नेगरी ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
बिजुलीका पोलहरु हटाउन र खानेपानीको पाइप गाड्नुपर्ने छ । विद्युतको पोल सार्न प्राधिकरणलाई भनिएको छ भने खानेपानीको पाइप गाड्न खानेपानी संस्थानसँग आग्रह गरिएको छ ।
सडकको मध्य भागदेखि दायाँ र बायाँ १५÷१५ मिटर फराकिलो बनाउने निर्णय भएपछि अधिकांश घरधनीले भौतिक संरचना हटाई मुआब्जा समेत लिइसकेका छन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सडक तथा नाला बनाउने कार्यको साउन २९ गते शनिबार शिलान्यास गरेका थिए ।
कलैया उपमहानगरका नगर प्रमुख विनोद प्रसाद साहको नेतृत्वमा ७ महिना अगाडि मानवत–मटिअर्वा कलैया सडक खण्ड निर्माणका लागी उक्त सडकखण्डमा पर्ने भौतिक संरचनाहरु डोजर लगाएर भत्काईएको थियो ।
यो अधुरो सडक बारा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्दछ । महत्वपुर्ण सडक भएपनि लामो समयदेखी निर्माण नहुनुमा यस क्षेत्रका सांसदहरुको पनि सकृयता नहुनु पनि एक कारण रहेको कलैयावासीको भनाई छ । बारा क्षेत्र नम्बर ३ बाट एमालेकी सांसद एव पुर्वमन्त्री ज्वाला कुमारी साह,एमालेकै प्रदेश संसद महमद समिर,रविन्द्र दास श्रेष्ठ निर्वाचित भएका हुन ।
सांसदहरुले सकड आयोजना प्रति चासो नदिदा निर्माण कार्यले थप ढिलाई पाएको कलैयाका एक व्यावसायीले दुखेसो गरेका छन ।


