बाराको पिलुवामा रहेको ग्यास वान नेपालले पुरानो सिलिन्डर नष्ट गरेको छ । धेरै पुराना र हाइड्रोलिक टेष्ट फेल भएका मापदण्ड विपरित रहेका चार सय आठ थान ग्यास सिलिन्डर नष्ट गरेको ग्यास वान नेपाल कम्पनीले जनाएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवामा रहेको ग्यास उद्योग परिसरमा सो सिलिण्डर नष्ट गरिएको हो । नेपाल आयल निगम,उपभोक्ता अधिकारकर्मी,गुणस्तर तथा नापतौल विभाग,वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका अधिकारीको रोबहरमा ति सिलिण्डर नष्ट गरेको हो ।
म्याद पुगेका ग्यास सिलिन्डर नष्ट नगरे दुर्घटनाको जोखिम भएकाले हाइड्रोलिक टेष्टमा फेल भएका,सिलिन्डर नष्ट गरेको ग्यास वान नेपाल प्रालीका प्रबन्धक सरोजराज ढकालले बताए ।
ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलो पटक,त्यसपछि प्रत्येक पाँच–पाँच वर्ष र त्यसपछि ३–३ वर्षमा हाईड्रोलिक टेष्ट गर्नुपर्ने प्रावधान छ।
नयाँ सिलिन्डर पनि बजारमा पठाउँदा कुच्चिए,रिङ फुटे,ग्यास लिक भए नष्ट गर्नुपर्छ। मुलुकमा ५८ ग्यास उद्योग रहेका छन्। अधिकांश ग्यास उद्योगले धेरै पुराना सिलिन्डर प्रयोग गर्दै आएका छन्। यसले उपभोक्तामा जोखिम बढेको छ।
विभिन्न समयमा सिलिन्डरकै कारण दुर्घटना भएर मानवीय क्षति भएको छ। ग्यासको गुणस्तरको मापदण्ड तोकिएको छ ।


