बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० नीलकण्ठवामा गएराति आएको हावाहुरी तथा असिनासहितको वर्षाले जनधनमा ठूलो क्षति पुर्याएको छ।
हावाहुरीका कारण स्थानीय युनिष मियाँ अन्सारीको अर्धपक्की घरको छानो उड्दा करिब १ लाख रुपैयाँ बराबरको जस्ता (एन्भेस्टर) क्षति भएको छ।
साथै, घरमा राखिएको धान, गहुँलगायत अन्नबाली भिजेर करिब २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ। त्यसैगरी, हालै निर्माण भई सञ्चालनमा आएको भिजन एचिभर इन्स्टिच्युटको फुसको घर र छानो उड्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय रमेशप्रसाद चौरसियाको भकारीमा राखिएको धान तथा पसलको छानो उड्दा प्रिन्टर, फ्रिज, मोटर र महत्त्वपूर्ण कागजातहरू नष्ट भई ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ।
गएराति आएको तीव्र हावाहुरी र असिनासहितको वर्षाले बारा जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको छ भने अन्य स्थानहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

