बिहीबार जेठको औंशी तिथीमा अखण्ड सौभाग्यको कामना गर्दै विवाहित महिलाहरुले वट सावित्री पर्व धार्मिक विधिपूर्वक मनाइएका छन्।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ स्थित आमगाछिमा रहेको बरको बोटमा विवाहित महिलाहरुले पुजा गरेका हुन् ।
यो पर्वमा बिहानै स्नान ध्यान गरेर नववस्त्र धारण गरी पूजा सामग्रीका साथ वरको रुखमुनि बसेर पूजा गरिन्छ। धार्मिक ग्रन्थ स्कन्ध पुराणमा उल्लेख गरिए अनुसार,वरको रुखको जरामा ब्रह्मा,हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ।
अर्को धार्मिक मान्यतानुसार,सावित्रीका पति सत्यवानको अल्पायु मै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो। सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि वटवृक्ष अर्थात् वरको रुख मुनि बसेर सो पर्व मनाउने गरिन्छ।
यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ। यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना,माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प,बाँसको पंखा,टोकरी लगायतका साथै भोजनका लागि चामल,चिउरा,दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ।
गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्प दंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ।


