कालोपत्रे गर्न माँग गर्दै कलैयाको बैंक रोडका स्थानीय दिनहुँ धर्नामा

संदिप प्रसाद यादव
316 पाठक संख्या

कलैया : ब्यस्त सडक कालोपत्रे गर्न माँग गर्दै बाराको सदरमुकाम कलैया स्थित बैक रोडका स्थानीय तथा व्यापारीहरु दिनहु धर्नामा बसेका छन ।

कलैयाको बजारसंगै जोडिएको बैँक तथा वित्तिय संस्थाहरु प्नि सवैभन्दा बढि भएको उक्त सडकमा कलोपत्रे गर्न माग गर्दै स्थानीय तथा व्यपारीहरु बुधबार पनि धर्नामा बसेका हुन । उनीहरुले मंगलबार पनि धर्ना दिएका थिए ।

कलैया उपमहानगरपालिका ४ का पूर्व वडाध्यक्ष जटाशंकर सहनीको नेतृत्वमा उक्त धर्ना कार्यक्रम भइरहेको छ । यसमा स्थानीय ब्यापारीहरुको सहयोग लिई धर्ना कार्यक्रम अगाडी बढाइएको स्थानीयहरुले बताएका छन ।

वडा कार्यालय तथा उपमहानगरपालिका कार्यालयलाई ताकेता गर्दा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको निवर्तमान वडा अध्यक्ष सहनी बताउँछन्। सम्बन्धित निकायमा धाउँदा धाउँदा समेत काम नभएकोले धर्ना दिन बाध्य भएको उनको तर्क रहेको छ।

सडक वरिपरि नाला निर्माण भइसकेको छ। माटो जाँच गर्नेदेखि सबै काम समाप्त भइसकेको छ। यस अवस्थामा सडक निर्माण गर्न ढिलाई हुँदै आएको छ।

नगरपालिकाले ६ महिना भन्दा बढी समय देखि यो सडकलाई खनेर छोडिएको थियो । बीचमा दबाब दिएपछि बेस मात्र बनाइएको स्थानीयहरु बताउँछन्। यो कालोपत्रे गरिएन । पालिकाको अधिकांश विकास निर्माणको काम रातीमा हुने गरेको छ।

रातीमा गरिएको काम गणस्तरहीन हुन्छ। कसैले नहेर्ने गरि कमिशनको खेलमा राती राती गुणस्तरहीन काम गर्ने गरेको उनको कथन छ। सो सडकमा सवारीसाधन चल्दा सडकमा प्रयोग भएको ढुङ्गाले पसलहरुको सिसा फुटाएको व्यापारीहरु बताउँछन्।

यसै गरी विवेकशिल साझा पार्टीका बारा जिल्ला अध्यक्ष डा. सुशिल साह सडक निर्माण नभएसम्म धर्ना जारी रहने बताउछन्। २५० मिटर सडक नबन्नु आफैमा आश्चर्यको विषय भएको उनले बताए । यो निर्लज्जता हो, उनले भने।

कलैया उपमहानगरपालिका र वडा कार्यालयलाई समेत ताकेता गर्दा कानमा तेल हाली सुतेको हुनाले बाध्य भएर धर्नामा बस्नु परेको उनले बताए ।

दिनहुँ जसो सवारीको चाप हुने यो सडक कालोपत्रे नहुँदा वरिपरिका स्थानीयहरुलाई बस्न समेत समस्या भएको छ।

आफूहरुलाई बस्न अप्ठयारो भएको स्थानीय संजय दासले बताए। सवारी साधनले उडाएको धूलो घरमा पस्ने, लुगा कपडा ओछयान समेत धूलै धुलो हुने गरेको छ। खोक्दा समेत खकारमा धुलोका कणहरु देखिन थालेको उनले बताए ।

एक दुई दिन भित्रै सडक कालोपत्रे गर्ने काम शुरु हुने कलैया उपमहानरपालिकाले जनाएको छ। विकास निर्माणको काम कहिले पनि रोकिएको छैन नगरपालिकाको एक श्रोतले दावी गरेको छ।

पानीको समय छ,पानी परेन भने एक दुई दिनमा नै कालोपत्रे गर्ने काम शुरु हुने श्रोत बताउँछ।

धर्नामा किराना व्यवसायी संघ कलैयाका पूर्व अध्यक्ष विष्णु प्रसाद उपाध्याय,विवेकशिल साझा पार्टीका बारा जिल्ला अध्यक्ष डा. सुशिल साह,संजय दास,बलिराम दास,रामविश्वस साह, पुरुषोत्तम केशरी लगायतको सहभागिता रहेको छ।

Leave a review

This will close in 0 seconds