गढीमाई मेलामा विना अनुमति ड्रोन उडाउन प्रशासनद्वारा गरियो निषेध

संदिप प्रसाद यादव
417 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अनुमति विना ड्रोन उडाउन निषेध गरिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ड्रोन उडाउन निषेध गरिएको जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालय बारा द्वारा जारी सूचनामा ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि २०७५ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन क्यामरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्नसक्ने प्रावधान रहेको जनाइएको छ।

महागढीमाई नगरपालिका वडा नम्बर १ मा मंसिर १ गतेदेखि मंसिर मसान्तसम्म सो मेला लागिरहेको छ। पञ्चवर्षीय गढीमाई मेला २०८१ लाई लक्षित गरी कुनै पनि व्यक्ति,संघ,संस्थाले जिल्ला प्रशासन कार्यालय बाराको अनुमति वेगर ड्रोन क्यामरा उडान गर्न नपाउने सूचनामा लेखिएको छ।

यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामरा उडान गरेको देखिएमा वा पाइएमा उक्त ड्रोन क्यामरा जफत गरी सम्बन्धित ड्रोन क्यामराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने जारी सूचनामा सबैलाई जानकारी गराइएको छ।

Leave a review

This will close in 0 seconds