काठमाण्डौं : निर्वाचन आयोगले मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वतसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालन गर्न भनेको छ।
आयोगकी प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएकी हुन्। विज्ञप्तिमा मतदान हुने दिन राजनीतिक दल,उम्मेदवार,दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता,२०७९ को दफा १८ बमोजिम देहाय बमोजिमको कार्य नगर्न र नगराउन निर्वाचन आयोगबाट निर्देशन गरिएको जनाइएको छ।
मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन भनिएको छ।
मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन,बोक्न वा देखाउन नहुने पनि आचार संहितामा उल्लेख छ।
मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने निर्देशनमा भनिएको छ।
यस अनुसार मतदानको दिन उपरोक्त बमोजिम कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन आयोगले आह्वान गरेको छ।

