बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नं.३ निवासी ११ वर्षीय बालक मिठु भन्ने राजेश गुप्ता भारतमा मृत अवस्थामा फेला परेका छन्। तीन दिनअघि घरबाट सम्पर्कविहीन भएका राजेशको खोजी कार्य भइरहेका बेला उनको शव फेला परेको हो।
भारतको बिहार राज्यस्थित रक्सौल प्रखण्ड अन्तर्गत अहिर्वा पञ्चायत वडा नं.१ स्थित सिंगही नदीको खोलामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ। विश्रामपुर गाउँपालिका वडा नं.३ निवासी राजकुमार गुप्ताका छोरा राजेश तीन दिनदेखि हराएपछि परिवारजनले प्रहरीमा जानकारी गराएका थिए। त्यसपछि नेपाल प्रहरीले उनको खोजी तथा घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
भारतमा एक बालकको शव फेला परेपछि पहिचानका लागि हराएका बालक राजेशकी आमालाई बोलाइएको थियो। आमाले शव आफ्नो छोरा राजेश गुप्ताकै भएको पहिचान गरेकी छन्।घटनाबारे अनुसन्धानका लागि भारतको ११२ नम्बर प्रहरी टोलीले आवश्यक अनुसन्धान अघि बढाएको बिहार प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल प्रहरीसँग समन्वय गर्ने बताइएको छ। यसैबीच, नेपाल प्रहरीले पनि घटनालाई गम्भीर रूपमा लिँदै केही व्यक्तिलाई अनुसन्धानको घेरामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। बालकको मृत्युको कारण र घटनाको वास्तविकता भने अनुसन्धानपछि मात्र खुल्ने छ। घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।


