नदी किनार अतिक्रमण गरी बनाएका संरचना खाली गर्न महानगरको आग्रह

राम मण्डल
284 पाठक संख्या

वीरगञ्ज : नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न वीरगञ्ज महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगर भित्र बहने सिरिसिया,तिलावे र सिंगहा नदी अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन महानगरले भनेको हो। उक्त नदीको केन्द्र भागबाट ३० मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न पनि सूचनामा भनिएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार सूचना जारी गरेका हुन्। महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधी २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना बनाउन महानगरले अनुरोध गरेको छ।

सिरिसिया,तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ छाडेर मात्रै संरचना बनाउन भनिएको छ। ३० मिटर भित्र रहेका संरचना १५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख छ ।

कर्णले जारी गरेको सूचनामा भनिएको छ, ‘ सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ भित्र निर्माण कार्य नगर्न नगराउन साथै सो भित्र निर्माण भएका संरचना १५ दिनभित्र खाली गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

नदी अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन महानगरले आग्रह गरेको हो।

Leave a review