Sajhedari Daily
Latest News from Nepal

ज्यान मार्ने मुद्धामा ३० वर्षदेखि फरार अभियुक्त कुशवाहा पक्राउ

बारा प्रहरीले झण्डै ३० बर्षदेखी कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।प्रहरीले बारा जिल्ला साविक अमृतगंज गाविस वडा नं.७ हाल सिम्रौनगढ नगरपालिका वडा नं. ७ खजानी टोल बस्ने श्यामकिशोर प्रसाद कुशवाहालाई पक्राउ गरेको छ ।

पक्राउ परेका कुशवाहा सहितले २०४४ साल भदौ १२ गते साविक गाउँ पञ्चायत गोलागंज वडा नं. ४ बस्ने जयमंगल प्रसाद कोइरीलाई हत्या गरेका थिए ।

मृतक कोईरी घरबाट साइकल लिई सिम्रौनगढ बजार गई सोहि दिन घरतर्फ फर्कि आउने क्रममा साँझ करिब ६ः३० बजे बकुलहर पुलमा पुग्दा सिम्रौनगढ बजारदेखि पछ्याउदै आएका कुशवाहा सहितका व्याक्तिहरुले कटुवा बन्दुकबाट फायर गरी डर त्रास देखाई अपहरण गरेका थिए ।

सोही दिनको भोली पल्ट भदौ १३ गते अमृतगंज खजानी स्थित नेपाल भारतको सिमा नाकामा जयमंगल प्रसाद कोइरीको शरीरमा नाइलनको डोरीले बाँधी घाँटी रेटिएको अवस्थामा मृतक लाश फेला परेको थियो ।

कुशवाहालाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतको २०४७ साल असोज २८ गतेको फैसलाले १० वर्ष कैद ठहर गरेको थियो ।

फरार रहेका अभियुक्त कुशवाहालाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ परेका कुशवाहालाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पठाइएको बारा प्रहरीले जनाएको छ ।