बारा : गणतन्त्र दिवसको अवसरमा जीतपरसिमरा उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ। उसले सलामी,झण्डोत्तोलन,सम्मान तथा पूर्णखोप युक्त पालिका घोषणा गर्दै उत्साहपूर्वक मनाएको छ ।
कार्यक्रमको विशेष आकर्षणस्वरूप उपमहानगरपालिकाले दुई जना कर्मचारी तथा तीन जना अवकाश प्राप्त महिला स्वयसेवीलाई नगद सहित सम्मान प्रदान गरेको हो।
सम्मानित हुने कर्मचारीहरूमा वडा कार्यालयमा सचिवको रूपमा कार्यरत अधिकृत प्रदीप रेग्मी र स्वास्थ्य चौकीमा कार्यरत अहेव सन्जु चौधरी रहेका छन् । उनीहरूलाई जनही रू २५ हजार नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो।
त्यस्तै, अवकाश प्राप्त महिला स्वयसेवीहरूमा वडा नं. १७ की सेती माया तामाङ, वडा नं. १३ की राधा देवी हजामीन र वडा नं. २० की स्व. लक्ष्मी देवी यादव रहेकी छन्। तीनै जनालाई जनही रू. २० हजार नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले गणतन्त्र लामो संघर्षबाट प्राप्त उपलब्धि भएको बताउँदै यसको रक्षा र सुदृढीकरणका लागि सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले गणतन्त्रले जनतालाई दासताको जीवनबाट मुक्त गर्दै सच्चा जनताको शासन स्थापना गरेको स्मरण गराए। नगर प्रमुख पौडेलले उपमहानगरपालिकामा बढ्दै गएको बेरुजुको चाङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुधारात्मक कदम चालिने प्रतिबद्धता समेत व्यक्त गरे।
सहभागी सम्पूर्णले पुर्णखोप सुनिश्चितता तथा दिगोपनाकोलागि हस्ताक्षर गरी प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी,प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई,नेकपा एमालेका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाह ठकुरी ,माओवादी केन्द्रको नगर अध्यक्ष प्रेम बराल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख अधिकृत बालाराम खड्काले गरेका थिए।

