संयुक्त अभियानपछि कलैयाको ट्राफिक व्यवस्थापनमा आंशिक सुधार, अव्यवस्थित पार्किङ अन्त्य गर्न चालक-व्यवसायीको साथ

साझेदारी डेलि
36 पाठक संख्या

कलैया । बारा जिल्लाको सदरमुकाम कलैयामा लामो समयदेखि ट्राफिक जाम र जथाभावी पार्किङका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य गर्ने उद्देश्यले शनिबार व्यापक ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। सरकारी सुरक्षा निकाय र युवाको संयुक्त पहलमा सञ्चालन भएको अभियानले बजार क्षेत्रको पार्किङ व्यवस्थापन सुधारतर्फ महत्वपूर्ण सुरुआत गरेको छ।

जेन्जी एण्ड युथ अफ बाराको संयोजनमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत कलैयाको मुख्य बजार, व्यस्त चोक तथा बढी सवारी चाप हुने स्थानहरूमा विशेष निगरानी गरिएको थियो। अभियानका क्रममा सडक पेटी तथा मुख्य सडकमा जथाभावी पार्किङ गरिएका सवारीसाधनलाई हटाउन र तोकिएको स्थानमा मात्रै पार्किङ गर्न सवारी चालक तथा व्यवसायीलाई आग्रह गरिएको थियो।

अभियानमा सहभागी टोलीले दण्डात्मक कारबाहीभन्दा पनि जनचेतनालाई प्राथमिकतामा राख्दै सवारी चालक, व्यवसायी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेको थियो। हात जोडेर सहयोगको अपिल गर्दै सडक अनुशासन कायम गर्न सबैको साथ आवश्यक रहेको सन्देश दिइएको थियो। ट्राफिक नियमको पालना भएमा बजार क्षेत्रको आवागमन सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि उल्लेखनीय रूपमा घट्ने टोलीको भनाइ थियो।

अभियानका क्रममा अधिकांश सवारी चालक तथा व्यवसायीले सकारात्मक प्रतिक्रिया जनाउँदै तोकिएको स्थानमा मात्रै सवारी पार्किङ गर्ने प्रतिबद्धता जनाएका थिए। स्थानीयवासीले समेत अभियानको स्वागत गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिए कलैयाको बढ्दो ट्राफिक समस्या धेरै हदसम्म समाधान हुन सक्ने धारणा व्यक्त गरेका छन्।

कलैया बजारमा वर्षौंदेखि सडक किनारमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण तथा अव्यवस्थित सवारी सञ्चालनका कारण दैनिकजसो ट्राफिक जाम हुने समस्या देखिँदै आएको छ। विशेषगरी बजारको मुख्य सडकमा अनियन्त्रित पार्किङका कारण एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका सवारीसमेत प्रभावित हुने गरेका थिए।

अभियानमा संलग्न पक्षहरूले ट्राफिक व्यवस्थापनलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने बताएका छन्। नागरिक, सवारी चालक र व्यवसायी सबैले ट्राफिक नियमको पालना गरेमा कलैयालाई व्यवस्थित, सुरक्षित र सुगम आवागमन भएको सहरका रूपमा विकास गर्न सकिने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

Leave a review

This will close in 0 seconds