रौतहटको धरहरीमा मेला उद्घाटन गर्ने क्रममा झडप मेयरसहित तीन जना घाइते

साझेदारी दैनिक
378 पाठक संख्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उदघाटनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपमा मेयर प्रेमलाल साहसहित दुई प्रहरी जवान घाइते भएका छन्।

शस्त्र प्रहरी बल देवाही गोनाहीले दिएको जानकारी अनुसार, मेला उदघाटनका लागि मेयर साह मेला स्थल पुगेका थिए। तर, स्थानीय रामबिनोद साहको नेतृत्वमा रहेको अर्को समूहले मेयरलाई उदघाटन गर्न नदिने अडान लिएपछि विवाद सुरु भएको थियो।

स्थानीय स्रोतका अनुसार, रामबिनोद साह पक्षका केही युवाहरुले मेयर साहको उपस्थितिविरुद्ध नाराबाजी गर्दै उदघाटन कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। स्थिति नियन्त्रणबाहिर जाँदा दुबै पक्षबीच हाताहाती झडप भएको र प्रहरी समेत हस्तक्षेप गर्न बाध्य भएको बताइएको छ।

झडपका क्रममा मेयर साह घाइते हुनुका साथै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका दुई जना प्रहरी जवान पनि चोटग्रस्त भएका छन्। उनीहरूको गरुडा स्थित वेटर नेपाल मल्टिस्पेस्लिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शस्त्र प्रहरीका जवान बृजकिशोर चौधरीका अनुसार, घटनाको मुख्य योजनाकार रामबिनोद साह रहेका छन्। सोही क्रममा साहका छोरा करिब १६ वर्षीय रितिक साह र भाइ राधामोहन साहलाई घटनास्थलमै नियन्त्रणमा लिएर प्रहरी टोलीले गरुडा लगिएको छ।

घटनापछि क्षेत्रको वातावरण तनाबपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी खटाइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले झडपको कारण र योजनाबारे थप अनुसन्धान सुरु गरेको छ। स्थानीयवासीहरुले धार्मिक तथा सामाजिक मेलालाई राजनैतिक र व्यक्तिगत द्वन्द्वका कारण बिगारिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

Leave a review