रौतहटमा साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा

Om Prakash Yadav
304 पाठक संख्या

रौतहट। रौतहट प्रहरीले गएराति गस्तीको क्रममा लागूऔषध गाँजा सहित गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट असइ अमोद साफीको कमाण्डमा खटिएको टोलीले गएराति ८ बजेको समयमा इशनाथ नगरपालिका – ८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजा सहित एक गाडी नियन्त्रणमा लिइएको हो ।

मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीलाई देखेर चालक गाडी छाडेर भागेका थिए । त्यसपछि प्रहरीलाई गाडीमाथि शंका लागेको थियो।

शंकाको आधारमा प्रहरीले गाडी चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागू औषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन्।

एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको डिएसपी कार्कीले बताए। माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।

गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको डीएसपी कार्कीले बताए । पछिल्लो समय रौतहटमा ठूलो मात्रामा गाँजाको तस्करी भइरहेको पाइएको छ ।

आजभन्दा करिव दुई महिना अघिपनि गरुडा बाट दुई क्विन्टल भन्दा बढी गाँजा बरामद भएको थियो। गाडीमा राखेर नै गाँजा कारोबारीले ठूलो मात्रामा गाँजा तस्करी गर्ने गरेको पाइएको छ।

प्रहरीले गाँजा र गाडी मात्र पक्राउ गर्ने गरेको भएपनि कारोबारी वा तस्कर पक्राउ गर्न नसक्दा गाँजा कारोबारमा वृद्धि भएको देखिएको छ।

Leave a review

This will close in 0 seconds