कलैया । बारा प्रहरीले एक लाखभन्दा बढी मूल्यका प्रतिबन्धित पटाका बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार चेकजाँचका क्रममा उक्त पटाका बरामद गरेको हो।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसको डिकीभित्र लुकाइछिपाइ राखिएका विभिन्न किसिमका अबैध पटाका भेटिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पटाकाको अन्दाजी मूल्य एक लाख दुई हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन्।
उनका अनुसार बरामद पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

