कलैया । बारा जिल्लामा अहिलेसम्म १ हजार ५ सय ४८ जनाले आफ्नो नाम दर्ता गराएका छन्।
आयोगले असोज १२ गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्यमा उनीहरुले आफ्नो नाम मतदाता सूचिमा नाम दर्ता गराएका हुन्।
निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सुरू गरेको मतदाता नामावली संकलन कार्यमा बारा जिल्लामा एक हजार ५ सय ४८ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन आयोग बाराका सूचना अधिकारी मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार एक हजार १६ जना पुरुष र ५ सय ३२ जना महिलाले नाम दर्ता गराएका छन्। मतदाता नामावलीमा नाम सूचिबद्ध गर्न पुनः सुरू भएदेखि नै दैनिक ४० जनाभन्दा बढीले नाम दर्ता गराउने गरेका छन्।
मतदाता नामावली दर्ताको अन्तिम समयावधि सकिरहँदा यो संख्यामा वृद्धि हुने उनको अनुमान छ। निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यको लागि अन्तिम समयावधि कार्तिक ३० गते (कार्तिक मसान्तसम्म) तोकेको छ।
बारा जिल्लामा मतदाताको संख्या एक लाख ९९ हजार ३४३ महिला र दुई लाख ४१ हजार १६१ पुरुष तथा अन्य ११ जना गरी ४ लाख ४० हजार ५१५ मतदाता रहेका छन्।


