भ्रष्टाचारमुक्त प्रशासन र सुशासन हाम्रो पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

रञ्जन यादव
269 पाठक संख्या

जीतपुर : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार सुशासन र पारदर्शी प्रशासन स्थापनामा दृढ रहेको बताएका छन्।

शनिबार बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कुशासन र व्यथितिलाई अन्त्य गर्दै भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनका शब्दमा, “सरकार जनताको काँधमा काँध मिलाएर कुशासन समाप्त पार्न तयार छ। सुशासनको दिशामा पाइलाहरू अघि बढाउँदै भ्रष्टाचार र भ्रष्टाचारीलाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो।”

मुख्यमन्त्री सोनलले नागरिकहरूलाई जीविकोपार्जन, सामाजिक सद्भाव र राष्ट्रिय उन्नतिका लागि दोहोरो जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै नेपाल र मधेश प्रदेशलाई ‘स्वर्गभन्दा ठूलो भूमि’को संज्ञा दिए। उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सन्देश स्मरण गर्दै देश र प्रदेशको माटोप्रति गर्व गर्न सबैलाई आग्रह गरे।

देश हाल ‘तरल अवस्थामा’ रहेको उल्लेख गर्दै उनले कुशासन र भ्रष्टाचारले जनताको ध्यान तानेको बताए। “जेनजी पुस्ताका युवाहरूले समेत आन्दोलनमार्फत् आफ्नो विचार अभिव्यक्त गरिरहेका छन्, जसले परिवर्तनप्रतिको चेतना बढेको संकेत गर्छ,” उनले भने।

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष काशिम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं.४(क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाली काग्रेसका नगर कमिटी अध्यक्ष छबिलाल शर्मा ,नेकपा एमालेका नगरकमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह ,नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल ,रास्वपाको नगर कमिटी अध्यक्ष सुरेन्द्र के.सि. ,लोसपाका नेता राजुराज गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a review