कलैया : बाराका हिन्दुधर्मावलम्बी महिलाहरुले शनिबार उत्पत्तिका एकादशी मनाएका छन ।
जिल्लाको १६ पालिकाका हिन्दुधर्मावलम्बीहरुले उत्पत्तिका एकादशी मनाएका हुनमंसिर महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ, जसलाई वैतरणी एकादशी पनि भनिन्छ।
धार्मिक विश्वास अनुसार, भगवान् विष्णुको शरीरबाट एकादशी तिथिकै दिन उत्पन्न भएकी देवीको नाम एकादशी रहन गएको हो, जसले थकित विष्णुलाई रक्षा गर्दै दुष्ट दैत्य मुरको वध गरेकी थिइन्। त्यही दिनलाई उत्पत्तिका एकादशी भनिएको हो। यस एकादशीको व्रत बस्ने मान्छे मरेपछि वैतरणी नदी तर्नु नपर्ने भएकाले यसलाई वैतरणी एकादशी पनि भनिएको हो।
उत्पत्तिका एकादशीको व्रत गर्न चाहनेले दशमीका दिन बेलुकै सात्विक भोजन गरी दाँत माझेर सुत्नुपर्छ। एकादशीको बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान गरेर सूर्यलाई जल, अर्घ दिई पूजा तयारी गर्नुपर्छ। घरमा भगवान् विष्णुको मूर्ति वा तस्बिर स्थापना गरी विशेष गरी केशव नारायण (मंसिर महिनामा विष्णुको नाम) को पूजा गरिन्छ। पूजा सामग्रीमा अन्य पूजा सामग्री, धूप, दीप, नैवेद्य, भेटीका साथै तील, तुलसी पत्र, अमला र पञ्चामृत चढाइन्छ। दिउँसो एकादशी माहात्म्य पाठ गर्ने वा सुन्ने, र बेलुकी आरती गरी भजनकीर्तन गर्नु शास्त्रीय रूपमा पुण्यदायी मानिन्छ।
यो दिन निराहार व्रत बस्न सक्नेले दिनभर उपवास गरी राति जाग्राम बस्नुपर्छ भने नसक्नेले फलाहार गर्न सकिन्छ। भोलिपल्ट द्वादशीका दिन पुनः स्नान गरेर पूजा गरी, योग्य ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर व्रत समापन गर्नुपर्छ। त्यसपछि मात्र आफ्ना परिवारजनसँग भोजन गर्न शास्त्रीय परम्परा छ।

