वीरगञ्ज : मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गरी शिक्षा मन्त्रालयमा पठाएको निर्णयको विरोधमा वीरगञ्जमा बुधबार प्रदर्शन भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बोर्डलाई स्वीकृत गरेको विरोधमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्जले घण्टाघर क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
परिषद्ले मशाल जुलुस निकाली मुख्यमन्त्री यादवको पुतला दहन समेत गरेको छ। प्रदर्शनमा सहभागीहरूले उक्त निर्णय धार्मिक विभाजन निम्त्याउने दाबी गर्दै तत्काल खारेज गर्न माग गरेका छन्।
विरोध सभामा वक्ताहरूले मदरसा शिक्षा बोर्डको प्रस्ताव प्रदेश सरकारको आतुरता र नियतप्रति शंका पैदा गर्ने बताए। उनीहरूले शिक्षालाई धार्मिक आधारमा विभाजित गर्ने प्रयास गलत भएको जनाउदै प्रदेश सरकारलाई निर्णय फिर्ता लिन चेतावनी दिएका छन्।
मशाल जुलुसमा परिषद्का पदाधिकारी, स्थानीयवासी तथा समर्थकहरूको सहभागिता रहेको थियो।

