कलैया : युवा एवं खेलकुद क्षेत्रको लागि आवश्यक बजेट, नीति र कार्यक्रमको माग गर्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई बाराका यूवाहरुले बिहीबार ज्ञापनपत्र दिएका छन्।
ज्ञापनपत्र दिनेमा ई. सौरभ चौगाई, ई. अभिषेक कुशवाहा, ई.प्रदिप कुशवाहा, उज्यालो नेपालका केन्द्रिय सदस्य अरविन्द साह, समाजसेवी सुनिल कुशवाहा तथाचन्दन यादव लगायतका रहेका छन्।
नेपाल सरकारले युवाहरुको साथै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न नीति तथा कार्यक्रमहरू ल्याए पनि ती कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको ज्ञापनपत्रमा लेखिएको छ। मधेशमा दिनानुदिन लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेकोले युवाहरुलाई कुलतबाट जोगाउनको निम्ति अविलम्ब कार्यक्रम ल्याउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ।
कलैया–३ स्थित सिद्देश्वर खेल परिसरलाई क्रिकेट खेल मैदानको रुपमा पूर्वाधार सहित व्यवस्थापन एवं विकास गर्न माग ज्ञापनपत्रमा गरिएको छ। कलैया–२५ स्थित सुकलैया पोखरीको मैदानलाई फुटबल खेल मैदानको रुपमा पूर्वाधार सहित व्यवस्थापन एवं विकास गर्न ज्ञापनपत्रमा माग गरिएको छ। कलैया–५ स्थित हाल ट्राफिक कार्यालय रहेको स्थानलाई पूर्वाधार सहितको कभर्ड हल निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
कलैया–१७ स्थित ब्रह्मपुरीमा रहेको खाली मैदानलाई पूर्वाधार सहितको खेल मैदानको रुपमा विकास गर्न ज्ञापनपत्रमा भनिएको छ। प्रत्येक युवा एक खेल अवधारणा सहितका कार्यक्रमहरु लागु हुनुपर्ने माग गरिएको छ। प्रत्येक पालिकामा कम्तीमा एउटा पार्क सहितको फिटनेस सेन्टर संचालन हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। यी मागहरू यस क्षेत्रको युवाहरुसँग प्रत्यक्ष जोडिएकोले मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गरी दिनुहुनको लागि ज्ञापनपत्रमा माग गरिएको छ।

