सुनसरी । दुई पक्षबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा घोषणा गरेको छ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कमलाबजार क्षेत्रमा असोज १० गते राति भएको झडपमा एक युवकको मृत्यु भएको थियो। घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै असोज ११ र १२ गते दुई दिन शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। बिदाका क्रममा वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था बन्द रहनेछन्।
गाउँपालिका अध्यक्ष वेचन प्रसाद मेहताद्वारा हस्ताक्षरित सूचनामा बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरिएको छ।


