कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेपछि कुल ११२ जनाको उम्मेदवारी कायम भएको छ।
माघ ६ गते मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा २४ जना र क्षेत्र नं. ४ मा ३९ जना गरी जम्मा ११२ जना उम्मेदवारको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले बिहीबार सूचना प्रकाशित गर्दै अन्तिम रूपमा कायम गरेको हो।
माघ ९ गते शुक्रबार (भोलि ) दिउँसो १ बजेभित्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शुक्रबार दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने अपराह्न ४ बजे उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तालिका रहेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिएका छन्।

