कलैया । संदिप यादव / बाराको कलैयामा ट्राफिक प्रहरीले खुलेआम भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा सवारी साधनहरूलाई रोकी विभिन्न बहानामा अवैध असुली गर्ने गरेको पाइएको छ।
कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनियामा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टका दुई जना जवान र एक जना सहायक हवल्दारले भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूलाई रोकी असुली गर्ने गरेको स्थानीयले बताएका छन्।
उक्त स्थानमा कार्यरत ट्राफिक जवान निरज कुमार साह,सुशील कुमार यादव र सहायक हवल्दार रितेश पटेलले भारतीय नम्बर प्लेटका सवारी चालकसँग प्रति सवारी २०० रुपैयाँसम्म असुली गरी छोड्ने गरेको आरोप छ।
ट्राफिक प्रहरीले ब्लुबुक, लाइसेन्स तथा मादक पदार्थ सेवन (मापसे) चेकिङको बहानामा असुलीको पासो थाप्दै रकम असुलीमा केन्द्रित रहेको सवारी चालकहरूको गुनासो छ। चालकहरूका अनुसार एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म रकम असुली हुने गरेको छ। धेरै जरिवानाको डर देखाउँदै पैसा असुली गर्ने गरेको उनीहरूको भनाइ छ।
स्थानीयहरूका अनुसार साँझ परेपछि जुन सवारी साधनबाट पैसा उठ्ने सम्भावना हुन्छ, त्यही सवारीलाई मात्र ट्राफिक प्रहरीले रोकिने गरेको देखिन्छ। सवारी चालकहरू भन्छन्, “ट्राफिक प्रहरीले फाइन काट्ने भन्दै १०० देखि ५०० रुपैयाँसम्म माग्छ, तर दिएको रकमको कुनै बिल वा प्रमाण दिइँदैन।”
दुर्घटना न्यूनीकरणभन्दा रकम असुलीलाई प्राथमिकता दिँदा मुख्य शहर क्षेत्र मात्र नभई ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बन्दै गएको छ। बारामा ट्राफिक प्रहरीले सवारी धनीलाई अनावश्यक दुःख दिँदै विभिन्न बहाना बनाएर पैसा उठाउने गरेको आरोप पटक–पटक लाग्दै आएको छ। यसबाहेक ट्र्याक्टर र ट्रकमा ओभरलोड सिमेन्ट, रड तथा म्याजिक भ्यानबाट समेत अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले रकम लिने गरेको आरोप छ।
यस विषयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डलसँग बुझ्दा असन्तुष्ट भावमा कुरा गर्दै उनी बोल्न चाहेन्न। उनले भने, “ठिक छ, तपाईं आफ्नो तरिकाले गर्नुहोस्” भन्दै फोन काटेका छन्।
