कलैया : शिक्षा तथा समन्वय इकाई बारा प्रमुख अशोक कुमार जैसवारले स्व. रामचरित्र जैसवाररले बाराको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताएका छन्। बाराको आदर्शकोतवाल गाउँपालिका–१ स्थित रामचरित्र माध्यमिक विद्यालयको आयोजनामा शिक्षासेवी स्व. रामचरित्र जैसवारको ६३ औँ स्मृति दिवस आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
६२ वर्ष अघि स्व. रामचरित्रले च्युटाहामा विद्यालय स्थापना गरेर शिक्षाको ज्योति जगाएको उनले जनाएका हुन्। शिक्षाको उज्यालो प्रकाशबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्व. जैसवारले रामचरित्र माध्यमिक विद्यालयको स्थापना गरेका थिए। संघीय सरकार २०८४ सालसम्म देशका सबै पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ अघि बढिरहेको जानकारी दिदै दुई वर्षभित्र निम्न माध्यमिक तथा माध्यमिक तहका शिक्षक दरबन्दी पूरा गर्ने जनाए।
कुनै पनि पालिकाले १२ वटा शिक्षा सूचकांकमध्ये कम्तीमा ७ वटा सूचकांक पूरा गरेमा त्यस पालिकालाई साक्षर घोषणा गर्न सकिने उनले जनाए। शिक्षा विकासका लागि ठोस नीति, योजना र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको उनले जनाएका छन्।
कार्यक्रममा आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसादले श्री रामचरित्र माध्यमिक विद्यालयले यस क्षेत्रमा शिक्षाको ज्योति फैलाएको जनाए। उनले शिक्षा विकासका लागि कुनै कसर बाँकी नराख्ने समेत जनाए। शिक्षक अभाव हुन नदिन पालिकाबाट बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। पालिकामा शिक्षा सुधारका लागि निरन्तर पहल भइरहेको बताउनुभयो।
रामचरित्र माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा स्मृति दिवस कार्यक्रमका अध्यक्ष दिनेश प्रसाद साहले उक्त कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षकहरू, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरूको य सहभागिता रहेको थियो।


