जीतपुरसिमरामा करदाता सेवा औपचारिक रूपमा सुरु

संदिप प्रसाद यादव
209 पाठक संख्या

जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाबाट करदाता सेवा औपचारिक रूपमा सुरु भएको छ। उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख राजन पौडेलले सेवाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा सेवाग्राहीलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण गर्दै सेवा सञ्चालनमा ल्याइएको थियो । सेवा सुरु भएको पहिलो दिन कर सेवा लिने करदातालाई सम्मानसमेत गरिएको छ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले देशभरका उपमहानगरपालिकामध्ये पहिलो पटक जीतपुरसिमराबाट करदाता सेवा सुरु भएको जानकारी दिए। मन्त्रिपरिषद्को कार्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाटै कर सेवा विस्तार गर्ने नीति कार्यान्वयनमा आएको उनले बताए।

अब उपमहानगरपालिकाबाटै प्यान दर्ता, व्यवसाय दर्ता तथा करचुक्ता सेवा उपलब्ध हुने भएपछि करदाताले सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यसले समय र खर्च बचत हुनुका साथै कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढ्ने विश्वास लिइएको छ।

नगरप्रमुख पौडेलले करदाता सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी आवश्यक कर्मचारी खटाउन सुझाव दिए। कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a review