जीतपुरसिमरा-११ को माझी बस्तीको मुहार फेरीदै,२८ परिवारका लागि नयाँ आवास निर्माण थालनी

रञ्जन यादव
109 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलस्थित माझी समुदायको बस्तीमा विपन्न तथा आवासविहीन परिवारका लागि निर्माण हुन लागेका २८ वटा सुरक्षित आवासको बिहीबार शिलान्यास गरिएको छ। लुमन्ती आवासका लागि सहयोग समूह र जीतपुरसिमरा उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन हुन लागेको उक्त परियोजनाको नगर प्रमुख राजन पौडेल तथा उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले सम्मानजनक जीवनका लागि सुरक्षित आवास आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो। स्थानीय सरकार नागरिकलाई बसोबासको उचित व्यवस्था उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकाससँगै आवास क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

परियोजना अन्तर्गत निर्माण हुने प्रत्येक घरको लागत ३ लाख ५१ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार प्रतिघर २ लाख ५१ हजार ८ सय ५० रुपैयाँ संस्थाले व्यहोर्नेछ भने १ लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराउनेछ। लाभग्राही परिवारले श्रमदानमार्फत निर्माण कार्यमा प्रत्यक्ष सहभागिता जनाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा वक्ताहरूले आवासलाई केवल घर निर्माणको विषयका रूपमा नभई सामाजिक सुरक्षा, आत्मसम्मान र जीवनस्तर सुधारसँग जोडिएको आधारभूत अधिकारका रूपमा व्याख्या गरेका थिए। विशेषगरी माझी समुदायका परिवारलाई सुरक्षित बसोबासको अवसर उपलब्ध गराउन परियोजना प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको थियो।

स्थानीय बासिन्दाले वर्षौंदेखि झेल्दै आएको आवास अभाव समाधान गर्ने दिशामा यो पहल महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। निर्माण सम्पन्न भएपछि २८ परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। वडा नं. ११ का अध्यक्ष बिन्दालाल साहका अनुसार योजनाले सुरक्षित तथा व्यवस्थित आवासको व्यवस्था मात्र नभई सामाजिक र आर्थिक रूपमा समेत समुदायलाई सशक्त बनाउन सहयोग पुग्नेछ।

दीपेन्द्र माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुरेश प्रसाद यादव, समाजसेवी दीपलाल राम, जनप्रतिनिधि, लुमन्तीका प्रतिनिधि, स्थानीय अगुवा तथा लाभग्राही परिवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार निर्माण कार्य निर्धारित समयसीमाभित्र सम्पन्न गरी लाभग्राही परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।

लुमन्ती आवासका लागि सहयोग समूहले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा वडा नं. ९, ११, १९ र २० मा गरी कुल १ सय ४० वटा आवास निर्माण गरिरहेको छ। वडा नं. ९ मा लक्षित ३५ घरमध्ये २५ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १० वटा अन्तिम चरणमा छन्। वडा नं. १९ मा निर्माणाधीन ३६ घरमध्ये २७ वटा तयार भइसकेका छन्। वडा नं. २० मा निर्माणाधीन ३५ घरमध्ये करिब ८० प्रतिशत काम सम्पन्न भएको सामाजिक परिचालक रवि तिवारीले जानकारी दिनुभयो।

विपन्न, सीमान्तकृत तथा आवासविहीन परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्यले सञ्चालित यो कार्यक्रमले माझी समुदायसहित कमजोर आर्थिक अवस्था भएका परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds