Sajhedari Daily
Latest News from Nepal

संसद पुर्नस्थापना गर्न सर्वोच्चले आदेश जारि गर्नुपर्छ- सांसद चौधरी

नवराज चौलागाई/
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधी सभाका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिघटन गर्नुभएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेश जारि गर्नुपर्ने बताए ।

संसद विघटनको विरोधमा सोमबार बाराको आदर्श कोतवालमा भएको प्रदर्शनलाई सम्बोधन गर्नुहुदै नेता चौधरीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आदेश जारि नगरे अदालतप्रति जनताको विश्वास टुट्ने बताएका छन । संविधान मै व्यवस्था नभएको प्रक्रिया चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई धोका दिएको बताउदै सांसद चौधरीले बैशाखमा प्रधानमन्त्री ओलीले निर्वाचन गराउन नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले संकटकाल जारी गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेको चौधरीले आशंका व्यक्त गर्नुभयो ।
यसैगरी विरोधसभालाई सम्बोधन गर्दै निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद मिलाउन नसकेर प्रतिनिधिसभा बिघटन गर्ने गैरसंवैधानिक कार्य मान्य नहुने बताएका छन । मेयर खनालले राजाले जस्तै कम्युनिष्ट सरकारले पनि निरङ्कुशताको मार्ग अपनाएको आरोप लगाएका छन ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कु नसच्याएसम्म नेपाली काँग्रेसले विरोध गरिरहने बताए । उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाले गलत कदम चाल्यो भन्दैमा संघीय गणतन्त्रको विकल्प सोच्न नसकिने जनाए ।

नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख का क्षेत्रीय सभापति तथा बारागढी गाउपालिकाका अध्यक्ष देवदत्त बछारको सभापतित्वमा सम्पन्न विरोध सभामा नेपाली कांग्रेस बाराका पुर्व सचिव रामप्रसाद चौधरी, नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार,पुर्व केन्द्रिय सदस्य रमाकान्त साह लगायतले सम्बोधन गर्नुभएको थियो । आदर्श कोतवालमा सम्पन्न कार्यक्रममा हजारौको संख्यामा सहभागी कार्यकर्ताहरुले मोटरसाईकल जुलुश गरेकाथिए ।