कलैया । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराले भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गरेको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले गएराति १२ बजेदेखि लागू हुने गरी ७२ घण्टासम्मका लागि सीमा नाका बन्द गरिएको हो। प्रशासनका अनुसार मतदान सम्पन्न नहुन्जेलसम्म अन्तर्राष्ट्रिय सीमा नाका सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सम्पूर्ण नाका अस्थायी रूपमा बन्द गरिएको जानकारी दिए।
यसैबीच, निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि ‘मौन अवधि’ पनि सुरु भएको छ। मौन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्।
निर्वाचन आयोगले सीमा नाका बन्दसम्बन्धी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानीसमेत कडा पारेको जनाएको छ।

