चैती छठ र ईदलाई लक्षित गर्दै कलैयामा सरसफाइ अभियान सञ्चालन गरिने

साझेदारी डेलि
172 पाठक संख्या

कलैया : आउँदै गरेको हिन्दुहरूको महान पर्व चैती छठ तथा मुस्लिम समुदायको ईद पर्वलाई लक्षित गर्दै कलैयामा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ ।बाराको कलैया उपमहानगरपालिका–७ स्थित श्री छठ्ठीमाई मन्दिर परिसरमा शनिबार बसेको जेन्जी एण्ड युथ अफ बारा कलैया उपमहानगरपालिका कमिटीको बैठकले गर्ने निर्णय गरेको छ।

बैठकले पर्वको अवसरमा विभिन्न टोल तथा बस्तीहरूमा सरसफाइ अभियान चलाउने निर्णय गरेको हो। अभियानमार्फत स्थानीय क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन युवाहरूले सक्रिय भूमिका खेल्ने जनाइएको छ।

यसैबीच बैठकले हाल निर्माणाधीन करिब तीन किलोमिटर सडक निर्माणको काम गरिरहेको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्ने अवस्था देखिएकाले उक्त ठेक्काको म्याद थप नगरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।

कमिटीका संयोजक सौरभ पाण्डेका अनुसार जनताको आवश्यकतालाई मध्यनजर गर्दै सरसफाइ अभियानसहित विकास निर्माणका विषयमा पनि युवाहरूले सक्रिय रूपमा आवाज उठाउने निर्णय गरिएको हो।

बैठकमा सौरभ चौगाई, अजय यादव, सुरज साह, दिपेन्द्र साह, विक्की गुप्ता लगायत जेन्जी युथ अफ बारा कलैया उपमहानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a review