करैयामाई-१ मा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

साझेदारी डेलि
182 पाठक संख्या

जीतपुर : बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

उक्त कार्यक्रमको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने बताएका छन ।

वडा अध्यक्ष सोनालाल साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, योजना शाखा प्रमुख बिरेन्द्र महतो, ओसी राजु गुप्ता तथा वडा सचिव भद्र कुमारी अस्थानी लगायत उपस्थित रहेका थिए।

अभिमुखीकरणमा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रभावकारी बनाउने, जन्म, मृत्यु, विवाह र बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ताको महत्व र प्रक्रिया सम्बन्धी जानकारी दिइएको थियो। साथै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।

कार्यक्रमको सञ्चालन पञ्जीकरण शाखा प्रमुख सुमिन्त्र चौधरीले गरेकी थिइन । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a review