बारा । बारामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/०८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ।
उद्योगले सार्वजनिक गरेको आधिकारिक सूचना अनुसार यस वर्षको उखु क्रसिङ कार्य २०८२ साल चैत २६ गते बिहीबारदेखि बन्द गरिएको हो। वरिष्ठ प्रशासकीय अधिकृत राम नारायण यादवद्वारा हस्ताक्षरित सूचनामा उद्योगले यस सिजनमा कुल २९ लाख २९ हजार २ सय ६९ क्विन्टल उखु क्रसिङ गरेको उल्लेख गरिएको छ।
उक्त परिमाण उद्योगले निर्धारण गरेको लक्ष्यभन्दा केही कम हो। ५० लाख क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले यस वर्ष ३३ लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको थियो। तर, उखुको आपूर्तिमा कमी आएपछि लक्ष्य पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ।
सिजन समापनको अवसरमा उद्योगले सार्वजनिक सूचना जारी गर्दै उखु आपूर्ति गर्ने सम्पूर्ण किसानहरूलाई धन्यवाद व्यक्त गरेको छ।


