बारा । पर्साको वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान तथा पठनपाठनको समयतालिका सार्वजनिक गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै भोलि वैशाख ७ गतेदेखि नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान सुरु हुने जनाएको हो।
नगर प्रमुखको आदेशअनुसार जारी सूचनामा वैशाख ७ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने उल्लेख छ। भर्ना अभियान सम्पन्न भएपछि वैशाख १६ गतेदेखि सबै विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सुरु हुनेछ।
यस अवधिमा विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना, अभिलेखीकरण, वार्षिक कार्यतालिका तथा कार्ययोजना निर्माण गर्नेछन्। साथै शिक्षक क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र विद्यालय सुधार योजना (SIP) निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामार्फत महानगरपालिकाले तोकिएको समयतालिका अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न सबै विद्यालयहरूलाई अनुरोध गरेको छ।

