वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले बाईपास सडक विस्तारका लागि सडक क्षेत्रभित्र रहेका संरचना हटाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगरपालिकाका प्रमुख प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णद्वारा जारी सूचनाअनुसार सम्बन्धित सबैलाई २४ घण्टाभित्र संरचना हटाउन भनिएको हो।
सूचनामा वडा नं. १२ र १३ (साविक १५ र १६) को सिमानामा पर्ने बाईपास क्षेत्रमा, नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ती चोकसम्म सडक विस्तार गरिने उल्लेख गरिएको छ।
यसअन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर चौडाइ कायम गरिनेछ। नेपाल आयल निगम कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको भागमा विस्तार कार्य सम्पन्न भइसकेको र बाँकी काम अब अघि बढाइने जनाइएको छ।
महानगरपालिकाले यसअघि नै मिति २०८१/१०/१३ मा सूचना जारी गरिसकेको भए पनि विभिन्न कारणले काम अवरुद्ध भएको थियो।
अब बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ती चोकसम्म पर्ने सडक क्षेत्रमा बनेका सबै संरचना सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न आग्रह गरिएको छ।

