पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र उद्घाटन

रञ्जन यादव
73 पाठक संख्या

जीतपुर । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणलाई नयाँ उचाइ दिन उद्धार केन्द्र सञ्चालनमा ल्याइएको छ। ३१ औँ वन्यजन्तु सप्ताह २०८३ को अवसर पारेर निकुञ्जले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो।

“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने लक्ष्यसहित स्थापना गरिएको उद्धार केन्द्रले अब घाइते, बस्तीमा छिरेका वा जोखिममा परेका जनावरको तत्काल उद्धार, उपचार र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षणमा समुदायको बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता भएको बताए।

उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका हुन्। उनले स्थानीय तह र निकुञ्जबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आवश्यक परे नगर प्रहरी तथा पशु चिकित्सकमार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध सिकार नियन्त्रण र प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिएका थिए। सञ्चारकर्मीहरूलाई संरक्षण सन्देश जनस्तरसम्म पु¥याउन तथ्यपरक र जिम्मेवार सामग्री उत्पादन गर्न आग्रह गरिएको थियो।

अन्तरक्रियाअघि सञ्चारकर्मीहरूलाई निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन गराइएको थियो, जसले संरक्षणका प्रयास र चुनौतीबारे प्रत्यक्ष बुझ्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

Leave a review