Sajhedari Daily
Latest News from Nepal

अवैध लागू औषध गाँजा तथा हतियार सहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय निजगढले अवैध लागु औषध गाँजा र हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ४७ को ईमान सिंह तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक विकास थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रतनपुर बारा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती शनिवार राति निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरबाट लागुऔषध गाँजा र हतियार सहित पक्राउ गरेको जनाएको छ ।

अवैध लागु औषध गाँजा ओसार पसार खरिद बिक्री गरी रहेका करिब ८ र १० जनाको समूहमा रहेका लागू औषध तस्करहरूले प्रहरी टोलीलाई देख्नसाथ प्रहरीलाई लक्षित गरी हतियारबाट गोली फायर गरेकोले प्रहरी टोलीले प्रतिकार स्वरुप ठुलो चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरी तस्करहरू मध्येका तामाङलाई मात्र पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनको साथबाट ५ ओटा सेतो बोराभित्र लुकाई छिपाई राखेको एक सय २ के.जि. अवैध लागू औषध गाँजा र उनको साथबाट लोड भएको १ थान भरुवा बन्दुक सहित वरामद गरीएको प्रहरी निरिक्षक थपलियाले बताएका छन ।

पक्राउ परेकालाई हातहतियार खरखजाना र लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।